सर्बियामा आप्रवासी कामदारहरूको अधिकारहरु र संरक्षणका आधारहरु
तपाईं आफ्नो विशेष अधिकार र दायित्वहरूबारे जानकारी प्राप्त गर्न वा सम्बन्धित निकायहरूसँग कसरी सम्पर्क गर्ने भन्ने बारे जान्नका लागि कुनै पनि समयमा हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ।
आफ्ना अधिकारहरूबारे थप जानकारीका लागि तल क्लिक गर्नुहोस्:
यो सर्बियामा तपाईंको कानुनी हैसियतको आधार हो।
तपाईंको अधिकार: सर्बियामा तपाईंको बसोबास र रोजगारी कानुनअनुसार नियमित हुनुपर्छ। तपाईंले गर्ने कामको प्रकार र अवधिको आधारमा तपाईं आफ्नो बसाइ र कामलाई अधिकृत गर्ने उपयुक्त अनुमति (बसोबास र काम गर्न एकल अनुमति वा D भिसा) को हकदार हुनुहुन्छ।
यसको अर्थ के हो: कामको स्वरूपअनुसार तपाईंको कानुनी हैसियत फरक तरिकाले नियमित हुन सक्छ। दीर्घकालीन बसोबास र कामका लागि तपाईं बसोबास र कामको एकल अनुमति पाउन हकदार हुनुहुन्छ। मौसमी वा अल्पकालीन कामका लागि, यदि तपाईं भिसा आवश्यक पर्ने देशका नागरिक हुनुहुन्छ भने, D भिसा मार्फत तपाईंको बसोबास नियमित गरिन्छ। जुनसुकै अवस्थामा पनि, तपाईंको बसोबास प्रहरीमा दर्ता हुनुपर्छ र तपाईंको रोजगारीको विवरण सम्बन्धित निकायमा दर्ता हुनुपर्छ। यसले तपाईं सर्बियामा कानुनी रूपमा बसोबास र काम गरिरहनुभएको प्रमाण प्रदान गर्छ, जसले तपाईंका अधिकार र सुरक्षाको संरक्षण सुनिश्चित गर्दछ।
संरक्षण संयन्त्र: सर्बियाको कानुनी संरचनाले कानुनी रूपमा बसोबास र काम गर्नका सर्तहरू तोकेको छ। बसोबास र कामको एकल अनुमतिका लागि आवेदन Ministry of Interior – Foreign Nationals Directorate [गृह मन्त्रालय (विदेशी नागरिक निर्देशनालय)] द्वारा प्रक्रिया गरिन्छ। यदि तपाईंको आवेदन अस्वीकृत भएमा तपाईंलाई अपील गर्ने अधिकार छ।
IDEAS ले कसरी सहयोग गर्छ: IDEAS ले तपाईंलाई एकल अनुमति प्राप्त गर्ने प्रक्रियाबारे जानकारी दिन सक्छ।
तपाईंका अधिकार सर्बियाका कानुनद्वारा सुरक्षित छन्। तैपनि, यो जान्नु महत्त्वपूर्ण छ कि ती अधिकारको दायरा तपाईंको कामको प्रकारमा निर्भर गर्दछ, जस्तै: के तपाईंसँग रोजगार सम्झौता छ, के तपाईं मौसमी काममा संलग्न हुनुहुन्छ, वा तपाईंलाई विदेशी रोजगारदाताले सर्बियामा काम गर्न खटाएको हो ।
तपाईंका अधिकारहरू:
- लिखित सम्झौता: काम सुरु गर्नु अघि तपाईंले लिखित रोजगारी सम्झौता वा काममा संलग्नताको पुष्टि प्राप्त गर्नैपर्छ। यस्तो सम्झौतामा काम गर्ने स्थान, पारिश्रमिक/तलब, काम गर्ने समय तालिका, कामको विवरण तथा संलग्नताको अवधि स्पष्ट रूपमा उल्लेख हुनुपर्छ।
- न्यायोचित पारिश्रमिक: तपाईंले आफ्नो कामका लागि तलब वा आर्थिक पारिश्रमिक पाउने अधिकार राख्नुहुन्छ। तलब समयमै र सहमति अनुसारको रकममा भुक्तानी हुनुपर्छ। पूर्णकालीन रोजगारीको हकमा, तलब कानुनले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम हुन सक्दैन र तपाईंले तलब विवरण प्राप्त गर्नुपर्छ।
- काम गर्ने समय तालिका र विश्राम: तपाईंलाई निश्चित काम गर्ने समय तालिका तथा विश्राम र आराम अवधिको अधिकार छ। ओभरटाइमको लागि अतिरिक्त पारिश्रमिक दिनुपर्छ (घण्टाका आधारमा तलब पाइने मौसमी काम बाहेक) र पारिश्रमिक बिना तपाईंलाई जबरजस्ती ओभरटाइम काम गर्न लगाउन पाइँदैन।
- कार्यस्थलमा सुरक्षा र मर्यादा: रोजगारदाताले तपाईंलाई सुरक्षित कार्य वातावरण उपलब्ध गराउनुपर्छ, जसमा आवश्यक सबै उपकरण र तालिम तपाईंका लागि निःशुल्क रूपमा समावेश हुन्छन्। तपाईंलाई कार्यस्थलमा मर्यादाको अधिकार छ, जसमा अपमान, धम्की वा उत्पीडनबाट सुरक्षा पर्छन ।
- सामाजिक सुरक्षा योगदान: सामान्यतया रोजगारदाता पेन्सन तथा स्वास्थ्य बीमाका लागि सामाजिक सुरक्षा योगदान तिर्न बाध्य हुन्छ। यदि तपाईं सर्बियामा विदेशी रोजगारदाताका लागि काम गर्ने खटाइएका कामदार (assigned worker) हुनुहुन्छ भने, तपाईंको सामाजिक सुरक्षा अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा सम्झौताअनुसार तपाईंको मूल देशमा व्यवस्था गरिएको हुन सक्छ।
यसको अर्थ के हो: यी अधिकारहरूले तपाईंलाई शोषणबाट जोगाउँछन्। रोजगारदाताहरू यी अधिकारको सम्मान गर्न र आवश्यक परे तपाईंलाई संरक्षण प्रदान गर्न कानुनी रूपमा बाध्य छन्।
संरक्षण संयन्त्र: यदि तपाईंका अधिकार उल्लङ्घन भएका छन् भने, तपाईं श्रम निरीक्षणालय (Labour Inspectorate) मा उजुरी दिन सक्नुहुन्छ। तलबसम्बन्धी विवाद वा रोजगारीको समाप्तिसम्बन्धी विवादमा तपाईंले कानुनी प्रक्रिया सुरु गर्न सक्नुहुन्छ।
IDEAS ले कसरी सहयोग गर्न सक्छ: IDEAS ले तपाईंलाई तपाईंको विशेष अधिकार र दायित्वहरूको बारेमा जानकारी प्रदान गर्न सक्छ र सम्बन्धित संस्थाहरूसँग कसरी सम्पर्क गर्ने भन्ने बारे मार्गदर्शन दिन सक्छ।
राहदानी जफत, वरिष्ठ अधिकारीहरूबाट धम्की, शारीरिक सजाय, काममा बसेको रिपोर्ट नगर्ने, जबरजस्ती श्रम, बेतलबी श्रम, र कामदारहरूलाई नियन्त्रण र शोषण गर्न प्रयोग गरिने अन्य कार्यहरू मानव बेचबिखनको संकेत हुन सक्छन्।
तपाईंका अधिकारहरू: हिंसा, शोषण वा मानव बेचबिखनको सामना गरिरहेका आप्रवासी कामदारहरूले विशेष संरक्षण र सहयोग पाउने अधिकार राख्छन्।
यसको अर्थ के हो: राहदानी वा अन्य व्यक्तिगत कागजातहरू खोसेर राख्नु, धम्की दिने, ब्ल्याकमेल गर्ने, वा स्वतन्त्र आवतजावतमा प्रतिबन्ध लगाउने जस्ता कार्यहरू नियन्त्रण र शोषणका रूपहरू हुन् र मानव बेचबिखनका तत्वहरू हुन सक्छन्। मानव बेचबिखनका पीडितहरूले विशेष संरक्षण र सहयोग सेवा पाउने अधिकार राख्छन्। यसमा सुरक्षित आवास, चिकित्सा, मनोवैज्ञानिक तथा कानुनी सहयोग मात्र नभई रिकभरीको अवधि पनि समावेश हुन्छ, जसले सर्बियामा अस्थायी बसोबासको कानुनी आधार प्रदान गर्छ।
संरक्षण संयन्त्र: मानव बेचबिखन पीडित संरक्षण केन्द्र (Centre for Protection of Human Trafficking Victims) मानव बेचबिखन पहिचान र पीडित सहयोगका लागि जिम्मेवार आधिकारिक राज्य निकाय हो।
IDEAS ले कसरी सहयोग गर्न सक्छ: IDEAS ले मानव बेचबिखन, शोषण र हिंसाका पीडितलाई सहयोग गर्ने विशेषज्ञता प्राप्त संस्थाहरूको जानकारी र ती संस्थाहरूमा सिफारिस प्रदान गर्न सक्छ।
तपाईंलाई समान व्यवहारको अधिकार छ। तपाईं विदेशी हुनुहुन्छ भन्ने कारणले मात्र कुनै पनि व्यक्ति—जस्तै रोजगारदाता वा कोही अधिकारी—ले तपाईंलाई सर्बियाली नागरिकभन्दा कम अनुकूल व्यवहार गर्नु गैरकानुनी हो।
तपाईंको अधिकार: तपाईं राष्ट्रियता, जातीयता, भाषा, धर्म, लिङ्ग वा अन्य कुनै पनि व्यक्तिगत विशेषताको आधारमा हुने सबै प्रकारका भेदभावबाट सुरक्षित हुनुहुन्छ।
यसको अर्थ के हो: उदाहरणका लागि, समान कामका लागि स्वदेशी कामदारभन्दा कम पारिश्रमिक/तलब पाउनु, कठोर काम गर्ने अवस्थाको सामना गर्नु, विश्राम समय नपाउनु, वा तपाईंको भाषा वा फरक देशका भएका कारण अपमानजनक व्यवहार, गालीगलौज वा मानसिक यातना भोग्नु—यी सबै भेदभावका रूपहरू हुन्। त्यसैगरी, तपाईं विदेशी हुनुको कारणले कुनै सेवाबाट (जस्तै सरकारी संस्था वा बैंकमा) वञ्चित हुनु परेको पनि भेदभाव नै हो।
संरक्षण संयन्त्र: भेदभावका घटनामा तपाईंले सम्पर्क गर्न सक्ने मुख्य संस्था Commissioner for the Protection of Equality [समानता संरक्षणका लागि आयुक्त] हो। तपाईंलाई आफू भेदभावको सिकार भएको लागेमा निःशुल्क उजुरी दर्ता गर्न सक्नुहुन्छ। आवश्यक परेमा कानुनी कारबाही पनि सुरु गर्न सक्नुहुन्छ।
IDEAS ले कसरी सहयोग गर्न सक्छ: IDEAS ले तपाईलाई भेदभावको कानुनी परिभाषा, आयुक्तको कार्यालयमा उजुरी गर्ने प्रक्रिया र कानुनी कार्यवाहीसम्बन्धी जानकारी प्रदान गर्न सक्छ।
स्वास्थ्य सेवामा पहुँच तपाईंको समग्र कल्याणका लागि अत्यावश्यक छ। तपाईंको कानुनी अवस्था अनुसार, तपाईंले कि त रोजगारदाताद्वारा तिर्ने अनिवार्य योगदान (अनिवार्य स्वास्थ्य बीमा) मार्फत, वा निजी अथवा विदेशी स्वास्थ्य बीमा मार्फत स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्नुहुन्छ।
तपाईंको अधिकार: यदि तपाईंसँग रोजगार सम्झौता छ भने, तपाईंलाई स्वदेशी नागरिकसरह अनिवार्य स्वास्थ्य बीमाको समान अधिकार प्राप्त हुन्छ। यदि तपाईं मौसमी काममा संलग्न हुनुहुन्छ भने, रोजगारदाताद्वारा तिर्ने योगदानले कामसँग सम्बन्धित चोटपटक वा पेशागत रोगको उपचार खर्च समेट्छ। कामबाहिर भएका अन्य सबै स्वास्थ्य समस्याका लागि तपाईंले निजी स्वास्थ्य बीमा लिनु आवश्यक हुन्छ। निजी स्वास्थ्य बीमा भएका श्रमिक वर्गका हकमा, अधिकारको दायरा सम्बन्धित बीमाले नै निर्धारण गर्दछ।
यसको अर्थ के हो: यदि तपाईं अनिवार्य स्वास्थ्य बीमामा आबद्ध हुनुहुन्छ भने, तपाईंलाई स्वास्थ्य बीमा कार्ड प्राप्त गर्ने र स्वास्थ्य केन्द्रमा चिकित्सक छनोट गर्ने अधिकार हुन्छ। यदि तपाईं मौसमी कामदार हुनुहुन्छ भने, राज्य बीमाले कामका कारण भएका चोटपटकबाट मात्र सुरक्षा प्रदान गर्दछ, र अन्य सबै उपचारका लागि तपाईंको निजी स्वास्थ्य बीमा प्रयोग गरिन्छ।
संरक्षण संयन्त्र: Republic Fund of Health Insurance (RFZO) [रिपब्लिक फन्ड अफ हेल्थ इन्स्योरेन्स] ले पूर्णकालीन श्रमिकहरूलाई स्वास्थ्य सुरक्षा प्रदान गर्दछ, र मौसमी कामदारहरूको हकमा कामसँग सम्बन्धित चोटपटकको अवस्थामा स्वास्थ्य सुरक्षा प्रदान गर्दछ।
IDEAS ले कसरी सहयोग गर्न सक्छ: IDEAS ले तपाईंलाई स्वास्थ्य बीमामा दर्ता हुने प्रक्रिया र उपचार प्राप्त गर्ने तरिकाबारे जानकारी प्रदान गर्न सक्छ।
शिक्षा तपाईं र तपाईंका परिवारका सदस्यहरूको आधारभूत अधिकार हो।
तपाईंको अधिकार: तपाईंका बालबालिकालाई सर्बियाका नागरिकसरह समान अवस्थामा प्राथमिक तथा माध्यमिक विद्यालयमा अध्ययन गर्ने अधिकार छ। तपाईंले आफ्ना डिप्लोमा र योग्यताका प्रमाणपत्रहरुको मान्यता प्राप्तिका लागि पनि आवेदन दिन सक्नुहुन्छ।
यसको अर्थ के हो: तपाईंका बालबालिकालाई स्थानीय विद्यालयहरूमा निःशुल्क भर्ना गर्न सकिन्छ। तपाईंका शैक्षिक डिग्री तथा सीप/योग्यताहरूलाई आधिकारिक रूपमा मान्यता दिइन सक्छ, जसले रोजगारीका अवसरहरू सुधार गर्न सहयोग पुर्याउँछ।
संरक्षण संयन्त्र: शिक्षाको अधिकार स्थानीय विद्यालयहरू र शिक्षा मन्त्रालयमार्फत कार्यान्वयन गरिन्छ। प्रमाणपत्रहरुलाई आधिकारिक मान्यता दिने प्रक्रिया Qualifications Agency द्वारा सञ्चालन गरिन्छ।
IDEAS ले कसरी सहयोग गर्न सक्छ: IDEAS ले तपाईंलाई शिक्षामा पहुँच सम्बन्धी जानकारी प्रदान गर्न तथा सम्बन्धित सरकारी निकायमा सिफारिस गरेर सहयोग गर्न सक्छ।
यदि तपाईंका अधिकारहरू उल्लङ्घन भएका छन् भने, तपाईंलाई न्यायमा पहुँचको अधिकार छ। प्रणालीलाई बुझ्न र प्रयोग गर्न IDEAS ले सहयोग गर्छ ।
हाम्रो भूमिका यस प्रकार छ:
तपाईंका अधिकारहरू, कानुनी हैसियत प्राप्त गर्ने प्रक्रिया, तथा शोषण र भेदभावबाट संरक्षणका उपलब्ध संयन्त्रहरूको बारेमा जानकारी प्रदान गर्ने।
तपाईंले आफ्ना अधिकारहरू प्रत्याभूत गर्न सम्बन्धित सरकारी निकाय, संस्था वा कानुनी सहायता प्रदायकहरू कहाँ रेफरल गर्ने।
यो परियोजना Group 484 र IDEAS Center for Research and Social Development द्वारा Ministry of Labor, Employment, Veteran and Social Affairs [श्रम, रोजगारी, भेटेरान तथा सामाजिक मामिला मन्त्रालय] सँग नजिकको सहकार्यमा, जर्मन अन्तर्राष्ट्रिय सहयोग (GIZ) को सहयोगमा कार्यान्वयन गरिएको हो।